भोटेकोशीमा आएको भीषण बाढीले तटीय क्षेत्रको जनधन मात्र नभएर प्रसिद्ध गोसाईंकुण्डमा स्नान तथा भ्रमण गर्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत प्रभावित भएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले आज मात्रै गोसाईँकुण्डतर्फ ठूलो संख्यामा तीर्थयात्री र पदयात्रीहरु गाडी रिजर्भ गरेर गएको बताए ।
जनैपूर्णिमाको दिन गोसाईंकुण्डमा विशेष मेला लाग्ने भएकाले धार्मिक पर्यटकहरूको ठूलो संख्या यो सिजनमा त्यसतर्फ जाने गरेका छन् ।
यस वर्षको जनै पूर्णिमा पर्सी भदौ १२ गते परेकाले पनि धेरै तीर्थयात्रीहरू आजै त्यसतर्फ गएका थिए । तीर्थ यात्रीका परिवार तथा आफन्तहरूले सम्पर्क गर्दा कोही सम्पर्कमा रहे पनि धेरैजसोको फोन नलागेको भनेर सामाजिक सञ्जालमा उद्धारका लागि आग्रह गरिरहेका छन् ।